•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

त्रिवि क्यालेन्डर लागू गर्न नेविसंघको माग

2078-12-22

काठमाडौँ — नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर कार्यान्वयन गर्न माग गरेको छ । पछिल्लो समय विश्वविद्यालयको परीक्षा तालिका प्रकाशन, परीक्षा सञ्चालन र  नतिजा प्रकाशनमा चरम लापरबाही भइरहेको भन्दै नेविसंघले मंगलबार परीक्षा नियन्त्रकलाई सात बुँदे ज्ञापन पत्र बुझाएको हो ।  ज्ञापनपत्रमार्फत नेविसंघले कार्यालयका सबै काम वार्षिक कार्यतालिकाअनुसार हुनुपर्ने र परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गरिसक्नुपर्ने माग गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले ज्ञापनपत्र बुझाउँदै शैक्षिक प्रमाण पत्रका लागि अनलाइनमार्फत आवेदन गर्ने र २४ घण्टाभित्रै उपलब्ध प्रमाणपत्र उपलब्ध गराउनुपर्ने र सेवामुखी तथा आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गरी ढिलासुस्ती हटाउनुपर्ने माग गरेका छन् । उनले १५ दिनभित्र परीक्षा नियन्त्रण कार्यालय परिसरमा छुट्टै सहयोग कक्ष स्थापना गरी सेवा प्रदान गर्न समेत माग गरेका छन् ।

‘आफ्नो क्यालेन्डरअनुसार चल्नु विश्वविद्यालयको न्यूनतम मानक हो । तर अहिलेको परीक्षा प्रणाली नै नाजुक र भद्रगोल बन्दै गएको यथार्थ हाम्रो अगाडि छर्लङ्ग छ । कार्यालयको लापरवाहीको कारण विद्यार्थीहरू माझ आफ्नो परीक्षा हुने नहुने भन्ने विषयमा ठूलो अन्योलता बढ्दै गएको छ,’ अध्यक्ष शेर्पाले भने, ‘परीक्षाको नतिजा प्रकाशतपश्चात् पनि सयौँ दिनसम्म विश्वविद्यालयले शैक्षिक प्रमाणपत्र तयार नगर्नुका साथै प्रमाणपत्र प्रदान गर्न नसक्नु आफैँमा दुर्भाग्यपूर्ण हो ।’
नेविसंघले विश्वविद्यालयको नियमावलीमा नै परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने व्यवस्था भए पनि गत साउनमा सकिएको स्नातक दोस्रो वर्षको परीक्षाको नतिजा नै आठ महिना बितिसक्दा समेत प्रकाशित नभएकोतर्फ ध्यानाकर्षण गराएको छ ।

Latest News

Happy Women's day

2022-03-08