•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

अध्यक्ष शेर्पाद्वारा एनएसयूमा नेविसंघले गरेको आन्दोलनको खिलापमा नउभिन अनेरास्ववियुलाई चेतावनी

2079-03-11

काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) ले  अनेरास्ववियुलाई नेपाल संस्कृत विश्वविद्यालयमा विश्वविद्यालय (एनएसयू)मा नेविसंघले गरेको आन्दोलनको खिलापमा नउभिन अनेरास्ववियुलाई चेतावनी दिएको छ ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बिहीबार एक विज्ञप्ति जारी गर्दै  एनएसयूमा नेविसंघले गरेको आन्दोलनको खिलापमा नउभिन अनेरास्ववियुलाई चेतावनी दिएका हुन् ।

अध्यक्ष  शेर्पाले  विद्यार्थी हकहितका विषयमा गम्भीर भएर मनन गर्न र नेविस‌ंघले उठाएका मागहरुमा  सम्पूर्ण विद्यार्थीहरुको भलाइ भएकाले यसको खिलापमा उभिए जुनसुकै किसिमको आन्दोलका लागि आफूहरु तयार भएको जानकारी दिएका छन्  ।

अध्यक्ष  शेर्पाले विश्वविद्यालयका पदाधिकारीको तावेदारी गर्दै अनेरास्ववियु अध्यक्षले आन्दोलनको खिलापमा विज्ञप्ति निकालेको बताएका छन् । असार ८ गते अनेरास्ववियु अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गरी एनएसयुमा नेविसंघले लगाएको ताला पाँच दिनमा नखोले अनेरास्ववियुले फोडिदिने चेतावनी दिएकी थिइन् । त्यसपछि अध्यक्ष  शेर्पाले जवाफी विज्ञप्ति निकाल्दै अनेरास्ववियुलाई विद्यार्थी हितमा नै उभिन   सचेत गराएका हुन् ।

नेविसंघको संघर्षका कारण विश्वविद्यालयको नियमित पठन पाठन र परीक्षाका कार्यक्रममा कुनै पनि असर नपरेको अध्यक्ष  शेर्पाको विज्ञप्तिमा भनिएको छ । नेपाल संस्कृत विश्वविद्यालयको नेतृत्व सहमति र सहकार्यको संस्कृति विपरीत चल्न खोज्दा समस्याहरु उत्पन्न भएको शेर्पाको तर्क छ ।

शेर्पाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘विश्वविद्यालय जस्तो विशुद्ध प्राज्ञिक र शैक्षिक स्थलमाथि राजनीतिक आग्रहका आधारमा आफूलाई अगाडि बढाउन खोज्नु विद्यार्थी वर्गको हित विपरीत बलमिच्याई गर्न खोज्नु र संस्कृत विश्वविद्यालयको आफ्नो मौलिक र विशिष्ट मान्यता विपरीत चल्न खोज्नु जस्ता विषयले विद्यार्थी वर्गलाई आन्दोलित बनाएको हो।’

शेर्पाले लेखेका छन्, ‘विश्वविद्यालय नेतृत्वले  समस्या सिर्जना गरिरहेको छ । कुलपतिको हैसियतमा रहेका प्रधानमन्त्रीलाई आवश्यक निर्देशन र नियमन गरी संस्थालाई सही ट्रयाकमा हिँडाउन नेविसंघ सक्रिय छ ।’

विश्वविद्यालयका प्रचलित ऐननियमलाई मिचेर वास्तविक आवश्यकता र औचित्यको अध्ययन नै नगरी खुल्ला विज्ञापनका नाममा हुन थालेको धाँधली रोक्न नेविसंघ आन्दोलनमा उत्रिएको शेर्पाद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।

शेर्पाले लेखेका छन्, ‘विगत लामो समयदेखि वृद्धि हुन नसकेको विद्यार्थीको छात्रवृत्ति रकम बढाउनु पर्ने विषयमा अनुदार नेतृत्व विश्वविद्यालयलाई भर्तीकेन्द्र बनाउन भने उद्यत हुनुले यो विद्यार्थी वर्गको हितमा छैन र समग्र संस्थाको सुदूर भविष्यको पक्षमा पनि छैन भन्ने हामीलाई लागेर नै संघर्ष अगाडि बढाएका हौं ।’

नेविसंघले उठाएका माग सम्बोधनका लागि विश्वविद्यालय नेतृत्वलाई उनको आग्रह छ । अन्यथा उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने शेर्पाले चेतावनी दिएका छन्  ।

यसैगरी नेविसंघ वाल्मीकि इकाईका अध्यक्ष प्रदिप न्यौपानेले विश्वविद्यालयमा गैरप्राज्ञिक गतिविधि भइरहेको, भ्रष्टाचार भइरहेको र पदाधिकारीहरु गैरजिम्मेवार ढंगले अघि बढिरहेकाले विश्वविद्यालयमा नेविसंघ  आन्दोलनमा होमिएको बताए । छात्रवृत्तिका विषयमा पनि विश्वविद्यालयका पदाधिकारी अनुदार र गैरजिम्मेवार भएको इकाईअध्यक्ष न्यौपानेको आरोप छ ।

ताला फोडिएको खण्डमा कसरी जानुहुन्छ भनी हिमालयपोष्टले सोधेको प्रश्नमा इकाई अध्यक्ष न्यौपानेले भने, ‘ विश्वविद्यालयमा  प्राज्ञिक गतिविधि र विद्यार्थीको हितको काम हामीले गर्दागर्दै अनेरास्ववियु यसरी अघि बढ्यो भने हामी अर्को चरणको आन्दोलनका लागि तयार नै छौं । अरु विद्यार्थी संगठनलाई कसैले उचाल्ने काम गरिरहेको छ । हामी विद्यार्थी हकका पक्षमा उभिएका छौं आन्दोलन तुहाउन कसैले बल प्रयोग गर्छ भने हामी पनि बल प्रयोग गर्न सक्षम छौं ।  हामी पछि हट्ने कुरा आउँदैन । ‘

नेविसंघका नेता एवम् विद्यार्थी आन्दोलनका संयोजक चोलेन्द्र रिजालले विश्वविद्यालय प्रशासन जिम्मेवार नभई आफ्ना भरौटेहरूलाई  भर्ती केन्द्र बनाउन अग्रसर रहेको आरोप लगाए । बेथिती अन्त्यको लागि आन्दोलन अझ सशक्त बनाउनुपर्ने रिजालको तर्क छ ।



Latest News

Happy Women's day

2022-03-08