•  Office Hours: 10am-5pm
  •  Anamnagar, Kathmandu
  •  info@nsu.org.np

नेविसंघको आरोप – त्रिवि पदाधिकारीले अनियमितता लुकाउन मिडियाको ध्यान मोडे

2079-05-13

काठमाडौं – नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा देखिएका बेथितिविरुद्धको आन्दोलनबारे अफवाह फैलाउने काम भएको आरोप लगाएको छ । त्रिविमा जारी आन्दोलनबारे भ्रमपूर्ण समाचार संप्रेषण भइरहेको भन्दै नेविसंघ त्रिविका नेताहरुले सत्यतथ्य बुझ्ने प्रयास गर्न सम्बद्ध सबैलाई आग्रह गरेका छन् ।

त्रिविको विभिन्न तहका परीक्षामा प्रश्नपत्र छपाईमा भएको लापरवाहीउपर दोषीलाई कारवाही गर्न आफूहरुले माग राखेपनि उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले ‘गुण्डा’ परिचालन गरेर तथ्य मोडेको नेविसंघको आरोप छ ।

नेविसंघ त्रिविका नेता श्यामराज ओझाका अनुसार नेविसंघले त्रिविको पत्रकार सम्मेलनमा कुनै हस्तक्षेप गरेको थिएन । पत्रकार सम्मेलनस्थलबाहिर अनेरास्ववियु परिचालन गरेर उपकुलपतिले नेविसंघका विद्यार्थीहरुमाथि हातपात गराएको ओझाले बताए ।

‘उहाँहरुको पत्रकार सम्मेलन भित्र भइरहेको थियो । योभन्दा बाहिर अनेरास्ववियुले सुरक्षा दिइरहेको थियो । त्योभन्दा बाहिर प्रहरीको सुुरक्षा थियो । हामी सबैभन्दा बाहिर थियौं । हामीले पत्रकार सम्मेलनमा अवरोध गरेका होइनौं, प्रश्नपत्र प्रकरणका दोषीलाई कारवाहीको माग गर्न शान्तिपूर्ण विरोध गरेका हौं । तर उपकुलपतिले अखिलका गुण्डा लगाएर नेविसंघ कुटाए’, ओझाले भने ।

उपकुलपति बाँस्कोटाले आफ्ना कमजोरी ढाकछोप गर्न नेविसंघविरुद्ध सुनियोजित अभियान छेडेको उनको आरोप छ । ‘मिडियाले चासो दिनुपर्ने विषय धेरै छन् । प्रश्नपत्रमा अनियमितता भएकोबारे गठित समितिको छानबिन प्रतिवेदन किन सार्वजनिक भएन ? यही प्रश्न गर्दा हामीलाई खेदिएको छ । मिडियाले त्यो प्रतिवेदनपनि खोजिदिनुपर्यो’, उनले भने ।

नेविसंघ नेताहरुले आफ्ना अनियमितता र कमजोरी लुकाउन त्रिवि पदाधिकारीले विपक्षी संगठन परिचालन गरेर भ्रामक सूचना फैलाइरहेको आरोपसमेत लगाएका छन् ।

Latest News

Happy Women's day

2022-03-08